काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।
उनले शनिबार दिउँसो कास्की प्रहरीको हिरासतमा पुगेर रविलाई भेटेका हुन् । भेटपछि उनले रविलाई चितवनमा अमानवीय व्यवहार गरिएको बताएका छन् ।
उनले प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको संकेत गरे । प्रमुख सचेतक शाहीले लामिछानेलाई हिरासतमा राख्दा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जिकिर गरेका छन् । लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै उनले सडक र सदनबाट जवाफ माग्ने बताए ।
प्रमुख सचेतक शाहीले मानवअधिकारकर्मीसहित प्रहरी हिरासतमा पुगेको दाबी गरेका छन् । उनले प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुने उल्लेख गरेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । केही दिनमा पर्सा लग्ने तयारी छ ।