images

राष्ट्रपतिमा निर्णय लिन बालुवाटारमा ४ दलको बैठक जारी

काठमाडौं । राष्ट्रपति निर्वाचनको विषयमा निर्णय लिन पुरानो गठबन्धनका ४ दलका नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच छलफल जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायत नेताहरु सहभागी छन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनअन्तर्गत फागुन १३ गते (शनिबार) उम्मेदवारहरुको मनोनयन हुने कार्यक्रम छ । मनोनयन अगाडि नै राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुटाउन दलहरु छलफलमा व्यस्त छन् ।

राष्ट्रपति चयनको विषयलाई लिएर सत्ता साझेदार दलहरुको गठबन्धनमा खटपट बढेको छ । उता विपक्षी दल नेपाली कांग्रेसका नेताहरु भने पुस १० गते अगाडिको तत्कालीन ५ दलीय गठबन्धन ब्यूँतिने सम्भावना रहेको बताउँदै आएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिँदा कांग्रेसले पनि पक्षमा मतदान गरेपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोजिनुपर्ने पक्षमा छन् । जबकि सत्ता साझेदार एमालेका नेताहरु पुस १० गते प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा भएको ‘सहमति’अनुसार आफूहरुले अघि सारेको व्यक्ति राष्ट्रपति हुनुपर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको अडान लिएपछि कांग्रेस पनि निर्णायक पहल कदमीमा छ । कांग्रेस आफूले प्रस्ताव गरेको उम्मेदवारका हकमा राष्ट्रिय सहमति जुट्ने, जुटाउनुपर्ने बताउँदै आएको छ ।