images

लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।  लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विशेष अदालतमा दायर मुद्दामा भट्टराईलाई ठेकेदारले घुसबापत जग्गा किनिदिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । आयोगका अनुसार लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका प्रोप्राइटरले भक्तपुर साविक गुण्डु गाविस–३ हालको सूर्यविनायक नगरपालिका ७ मा कित्ता नम्बर १३७४ र १३७५ को २ रोपनीभन्दा बढी जग्गा किनिदिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

सरोजकी आमा जनक नन्दनी भट्टराईको नाममा किनिएको उक्त जग्गामा जग्गाधनीलाई ४० लाख र जग्गा खोजिदिनेको खातामा ४० लाख ठेकेदारले जम्मा गरेको साथै पछि जग्गा खोजिदिनेले जग्गा बेच्नेलाई ३८ लाख ७ हजार २ सय रूपैयाँ हालिदिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त भ्रष्टाचार मुद्दामा मतियारको कसुर गरेको भन्दै आमा नन्दनीलाई पनि प्रतिवादी बनाइएको छ ।