images

विद्युत महशुलको विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा हंगामा

काठमाडौं । विद्युत महशुलको विषयलाई लिएर प्रतिनिधिसभामा हंगामा भएको छ । आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनेर प्रश्न उठाउँदा सभामुख देवराज घिमिरेले रोकेपछि विवाद भएको हो । सभामुखको कदमप्रति विपक्षी दलले आपत्ती जनाउँदै केही बेर संसद बैठक अवरोध गरे भने सभामुखसँग सवालजवाफ भयो ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरि ढकालले सडक यातायातमा हुने दुर्घटनाबारे बोल्न आकस्मिक समय मागेका थिए । उनले यातायात क्षेत्रको समस्याबारे कुरा राखेपछि विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले रोकेका थिए ।

सभामुखले ढकाललाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर विरोध गरे । विवादपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न समय दिए । लामिछानेले ढकाललाई नै बोल्ने समय भएकाले उनलाई नै दिनुपर्ने माग गरे ।

त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सभामुखले सांसदहरुको बोल्न पाउने विशेष अधिकार नियन्त्रण गर्न नुहने बताए ।

रास्वपासँगै राप्रपा र माओवादी केन्द्रले पनि सभामुखको कदमको विरोध जनाए । बैठकमा केहीबेर सवालजवाफ नै भयो ।

केहीबेरको विवादपछि फेरि बेल्ने समय पाएका रास्वपा सांसद हरि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन माग गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरे ।

अहिले नेपाल विद्युत प्राधिकरण र व्यवसायीहरुबीच डेडिकेटेड र ट्रंक लाइनको महशुल विवाद चर्किको छ । प्राधिकरणले मनोमानी लाइनकाटेपछि यो विवादले झनै उग्र रुप लएको छ । प्राधिकरण र व्यवसायी मात्रै होइन यो विषयलाई लिएर सत्तारुढ दल र विपक्षी दल पनि विभाजित भएका छन् ।

सरकार नियमसंगत रुपमा शुल्क उठाउनुपर्ने र उद्योगको लाइन काट्न नहुने पक्षमा छ भने प्राधिकरण र विपक्षी दल जसरी पनि शुल्क असुल गर्ने पक्षमा छन् । प्राधिरकरणले सरकारकै निर्देशनलाई चुनौती दिँदा यो विषय झन पेचिलो बनेको छ ।