
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सवै अध्यादेशहरु पारित हुने बताएका छन् ।
एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा महासचिव पोखरेलले अध्यादेशको विरोध हु्ँदैमा सबै प्रयास असफल हुने नठान्न आग्रह गरे ।
महासचिव पोखरेलले सरकारले गत पुस १४ गते, २९ गते र माघ २ गते जारी गरेका सबै अध्यादेश संसद्बाट पारित हुने पनि बताएका छन् । अध्यादेश अघि अघि बढाउन अनेक विकल्प रहेकाले जसरी पनि राज्यको कानुनमा ढाल्ने उनले बताए ।
अध्यादेशका माध्यमबाट सबै क्षेत्रलाई सम्बोधन गर्ने प्रयास सरकारले गरेको उनको भनाइ छ । महासचिव पोखरेलले कानुन कार्यान्वयनका लागि आवश्यक परे नियमावली बनाइने स्पष्ट पारे ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिबाट अगाडि बढाउन नीति ल्याउने जानकारी दिए ।
उनले प्रविधिलाई आत्मसाथ गर्न नसकेमा आजको विकास सम्भव नहुने जिकिर पनि गरेका छन् ।
मन्त्री भण्डारीले सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने भएकाले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।