images

संवैधानिक परिषद् बैठक अनिर्णीत, प्रधानन्यायाधीशमा राउतको चर्चा

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बसेको संवैधानिक परिषद् बैठक अनिर्णीत भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो । संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको थियो । पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रित बनेको बताइएको छ । भदौ ३१ गते फेरि बैठक बसेर टुङ्ग्याउने गरी नेताहरू उठेका छन् ।

सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार दोस्रो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

यसअघि बुधवार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो । शुक्रवार बस्ने परिषद् बैठकको तयारी स्वरूप बिहीबार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले सम्भव भएसम्म शुक्रवार नै संवैधानिक निकायका रिक्त सबै पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सिफारिस गर्नुपर्ने धारणा राखेका थिए । प्रमुख प्रतिपक्ष दलले नै संवैधानिक निकायमा छिटै नियुक्ति गर्न माग गरेपछि प्रधानमन्त्री र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवाका लागि सहज भएको थियो ।

सर्वोच्च बाहेक अन्य ६ संवैधानिक पद रिक्त छ । उक्त पदमा राजनीतिक भागबन्डाको आधारमा नियुक्तिका लागि सिफारिस हुनेछ ।