images

सरकारमा गइसक्यौँ, अब जनताले चाहेको काम गर्नु पर्छ: रवि 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने गरी बनेको पछिल्लो राजनीतिक परिस्थितीबारे पार्टीमा ब्रिफिङ गरेका छन्।

गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनमा मिसिएपछि उपप्रधान तथा गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार छिरेका उनले सोमबार पार्टीमा ब्रिफिङ गरेका हुन्।

एमाले र माओवादी सम्मिलित गठबन्धनमा मिसिएर रास्वपा सरकारमा गएकोबारेमा फरक फरक कोणबाट आलोचनात्मक टिप्पणी भइरहेका बेला लामिछानेले आफ्नो कदमको बचाउ गरेका हुन्।

‘राजनीतिमा आइसकेपछि अनेक कुराको सामना र सम्झौता गर्नुपर्छ’, उनले सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा भने, ‘सरकारमा जानलाई नै राजनीतिमा आएका हौँ। अब हामीले जनताले चाहेअनुसारको डेलिभरी दिन सक्नुपर्छ।’

सभापति लामिछानेले पार्टी केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अब मन्त्रीहरूलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका छन्।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकोमा असन्तुष्टि देखिएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिएका छन् । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए ।

‘शत प्रतिशत सन्तुष्टि र स्वीकार्यता कहीँ पनि हुँदैन । अलि अलि असन्तुष्टि गर्ने कुरालाई सकारात्मक नै लिन्छौं’, उनले अनलाइनखबरसँग भने, ‘सरकारमा जान नहुने मत लगभग थिएन । छलफल गरेर निर्णय गरेको भए हुन्थियो भन्ने मत थिए ।’