images

सरकारलाई बालेनको चेतावनीः ‘गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफू गलत हो भने पक्राउ गर्न सरकारलाई चेतावनी दिएका छन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर शाहले आफ्नो फेसबुक पोस्ट हटेकोबारे संक्षिप्त टिप्पणी गरेका छन् । दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे मेयर बालेनले लेखेको स्टाटस फेसबुकले हटाएको थियो ।

त्यसप्रति जवाफ दिँदै उनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ,’ ।

बोलेनले यसअघि लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकोमा किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए । ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए ।

निकै चर्चामा रहेको यस विषयमा मेयर बालेनले लेखेको स्टाटस अहिले उनको वालमा देखिँदैन् । मेयर शाहको सचिवालयका अनुसार, उक्त स्टाटस आफूहरूले नभइ फेसबुकले नै हटाएको हो ।