images

सरकारले उपसभामुखको राजीनामाका लागि बलजफती गरेको छैनः सांसद बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको दाबी गरेका छन् ।

मङ्गलवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् ।

उनले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकूलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताए । उनले उपसभामुखले संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई भिसाका लागि अमेरिकी दूतावासमा पत्र लेख्नुले संसद्को मर्यादामाथि हुर्मत लिएको बताएका छन् ।

उनले भने – ‘उपसभामुखसँग जोडिएको घटना संसद्को विषय हो । संसद्मा उठेका विषय हुन् । सरकारले बनाएको । सरकारद्वारा सिर्जित समस्या, विषय होइन । उहाँले गर्नु भएको काम पदीय जिम्मेवारी अनुकूल होइन । त्यो कुरा बेठिक हो । बेठिक हो भन्ने कुरा संसद्मा उठ्यो । एम्बेसीसँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसद्को पदाधिकारीको हैसियत के हो भन्ने कुरा जसरी उजागर भएको छ, संसद्को मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो । मार्ग प्रशस्त गर्ने कुरा उहाँ स्वयम्को कुरा हो । हामीले कुनै बलजफती गरेका छैनौँ ।’

प्रमुख सचेतक बर्तौलाले प्रतिपक्ष दलहरूले उपसभामुखको विषयमा संसद्मा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाएका छन्  ।