images

सरकारविरुद्ध सङ्घर्ष गर्ने तयारी गर्ने तयारीमा छौँ: माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सङ्घर्ष गर्ने तयारी भइरहेको बताएको छ ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र सङ्घर्ष दुवै सङ्घर्षलाई चर्काउने तयारीमा आफूहरू रहेको बताएका हुन् ।
मङ्गलवार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने जिकिर गरे । उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि बताएका छन् ।
प्रवक्ता सापकोटाले भने, ‘भ्रष्टाचारका फाइलहरू बन्द भइराखेका छन् । लोकतन्त्रको पक्षमा पनि दुई दलीय यो सरकार त्यति इमानदार देखिएन । अब यो जनजीविकाको सवालमा पनि अब त्यति इमानदार र गम्भीर देखिएन । त्यस कारण यी  तीन वटै पक्षमा जनताका असन्तुष्टिहरू बढ्दै छन् । सरकारप्रति त मैले भनिरहनु पर्दैन–विभिन्न कार्यक्रमहरूमा प्रधानमन्त्री तथा सत्ता साझेदारहरूको नेताका विरुद्ध जनमत उर्लिन थालेको छ । मेरो यो तपाईँको लोकप्रिय मिडियामार्फत मेरो भनाई के छ त भन्दा जनताले ठुलो बलिदान गरेर प्राप्त गरेका हक अधिक छिन्ने कोसिस नगरौँ । बरु त्यसलाई अझ विकास गरौँ । जनताको अधिकार बढाउने, अग्रगमनतिर जाने, परिवर्तनतिर जाने, जनताको अधिकारको झन् विकास गर्ने कुरामा हामी तयार छौं । जनताको अधिकार खोस्ने कुनै चेष्टा गरिन्छ भने त्यसको विरुद्ध हामी जमेर प्रतिवाद गर्छौँ । सदनमा पनि प्रतिवाद गर्छौँ । र सडकमा पनि हामी प्रतिवाद गर्छौँ । अहिले त्यसको तयारी हामीले गरिरहेका छौं ।’
प्रवक्ता सापकोटाले सरकार राष्ट्रियताको सवालमा पनि गम्भीर नभएको आरोप लगाएका छन् ।