images

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनै पनि प्रकरणमा कानुन उल्लङ्घन गरेको भए उनले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।

महामन्त्री थापाले शक्तिशाली, सत्तासीन, नाता पर्ने जो कोही भए पनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने स्पष्ट पारेका छन् । उनले संसद्मा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको उल्लेख गरे ।

महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेस पार्टीका विधान, परम्परा, हाम्रा निर्णयहरुले त्यो कुरा स्पष्ट पारेको छ र त्यही स्पष्ट पारेको कुरालाई पटक पटक हामीले दोहोर्‍याएका छौँ भने कुनै पनि प्रकरणमा, विषयमा, काममा यदि कसैले कानुन मिच्दछ, कानुन उल्लङ्घन गर्छ, दण्डनीय काम गर्दछ भने दोषी छ भने दोषीले उन्मुक्ति पाउनु हुँदैन । चाहे त्यो शक्तिशाली, सत्तासीन, नाता पर्ने होस्, चाहे जोसुकै होस् । निर्दोषले दण्ड पाउनु हुँदैन । यो पार्टीको हाम्रो बटम लाइन हो । यसमा टेकेर म लगायतले पटक पटक भन्दै आएका छौँ, चाहे त्यो नेता होस्, नाता पर्ने होस्, हाम्रो होस्, अर्काको होस् । दायाँ, बायाँको होस् । कुनै पनि कानुन उल्लङ्घन गर्ने काम गरेको छ भने सर्वसाधारणले जुन विषय उल्लङ्घन गर्दा दण्ड पाउँछ, शक्तिशालीले पनि त्यो विषय उल्लङ्घन गर्दा दण्ड पाउनुपर्छ । यो विषयमा तपाईँहरूले बोल्नुभयो की भएन, मौन हुनुहुन्छ की हुँदैन रु भन्ने कुरा यो सोधिराख्नै पर्दैन । यो मेरो हकमा पनि र अरूको पनि त्यही हो । यसभित्र जसको नाम आउँछ, त्यो छानबिनको दायरामा आउँछ, आउनुपर्छ । जहाँसम्म नेपाली काँग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैँले यो प्रसङ्गमा आज संसद्को बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ ।’

महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने प्रस्ट पारेका छन् ।