images

सहायक वन अधिकृत र शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सहायक वन अधिकृत पार्धेले काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा घ को उपदफा (१) बमोजिम कसुरमा सात हजार रुपैयाँ बिगो कायम गरी आज विशेष अदालतमा आरोप पत्र दायर भएको छ ।

यस्तै तनहुँको व्यास नगरपालिकामा रहेको बाल मन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पौडेलले शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाई स्कुल तहको किर्ते शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिएको भेटिएको आयोगले जनाएको छ । शिक्षक पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजायको माग भएको छ ।