images

साताभर करिब साढे ७ प्रतिशत बढ्यो नेप्से परिसूचक

काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे ७ प्रतिशत बढेको छ ।

गत साता २५ सय ६८ दशमलव १३ विन्दुमा बन्द भएको नेप्से, यस साता ७ दशमलव ३० प्रतिशत अर्थात १८७ दशमलव ४९ अंक बढेर २७ सय ५५ दशमलव ६२ विन्दुमा पुगेको छ । यस साता नेप्से २८ सय विन्दु छोएर फर्किएको हो । साताको अन्तिम कारोबार दिन इन्ट्रा डेमा नेप्से २८ सय ५ विन्दुसम्म पुगेको थियो ।

५ करोबार दिनमध्ये यस साता ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन सामान्य अंक घटेको थियो । साताको पहिलो कारोबार दिन नै नेप्से एकैदिन ११३ अंक बढेको थियो ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा १४ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १९ अर्ब २६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यस साता नेप्सेले कारोबार रकममा अल टाइम हाइ रकर्ड बनाएको छ । अघिल्लो बुलमा एक दिनमा अधिकतममा २१ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साताको बुधबार २१ अर्ब ९१ करोडको शेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २० दशमलव ३२ प्रतिशत बढेको छ । यस साता लघुवित्त र व्यापार उपसमूहको परिसूचक भने घटेका छन् ।