काठमाडौं । घरेलु मैदानमा सुरु साफ यु–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । पहिलो हाफमा नीराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बनेको छ ।
खेलको २४ औँ मिनेटमा नीराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो । श्रीलङ्काका गोलरक्षकसहित ७ खेलाडीलाई बिट गर्दै गरेको नीराजनको सशक्त प्रहारले पोस्टको जाली चुमेको थियो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो ।
खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता फराकिलो पार्ने मौका गुमाएको थियो । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशविरुद्ध खेल्ने तालिका छ । लिगमा सोमबार समूह बी को पहिलो खेलमा भारत र भुटान खेल्नेछन् ।