images

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा, कांग्रेसलाई सरकार गठनको बाटो खुला

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार प्रदेश सभा बैठकलाई सम्बोधन गरेका उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका छुन् । उनले सत्ता पक्ष र प्रतिपक्ष जहाँ भए पनि जनताका एजेन्डा उठाउन प्रतिबद्ध रहेको पनि बताएका छन् ।

मुख्यमन्त्री सोडारीले प्रदेश सभाबाट विश्वासको मत नपाउने देखेपछि १०५ दिनमा राजीनामा दिएका हुन् । गत वैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बनेका थिए । नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहमति अनुसार अब सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने भएको छ । यसैबीच, सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको लागि दुई दिन समय दिइएको छ । प्रदेश प्रमुख नजिर मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।