काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । चौथो खेलमा पहिलो हार बेहोर्ने क्रममा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भयो । चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमरसिंह राउटेलाको बलमा आउट भए । सेफ जेबले ११ बलमा १८ रन जोडे । विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले ८ बलमा १० रन जोडे । चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले समान २ तथा रिजन ढकाल र रञ्जित कुमालले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गर्यो ।
चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए । रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दिपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेटकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए । सुदूरपश्चिमले लगातार जित पछि पहिलो हार बेहोरेको हो । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । चितवनले चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।