images

पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू

काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीअघिको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा हट एअर बेलनबाट पाँच हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न रङ्गका १७ वटा बेलुन उडान हुने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर आजदेखि शुरू भएको महोत्सव यही पुस १७ गतेसम्म चल्ने छ । आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजना भएको महोत्सवमा हरेक दिन साङ्गीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत हुने आयोजकले बताएका छन् । महोत्सवमा नेपालसहित, अमेरिका, बेलायत, अस्ट्रेलिया, स्पेन, लिथुआनिया, थाइल्यान्ड, जापान, इटालीलगायतका १५ वटा देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरू सहभागी भएका पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।