काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनमा चुनावी चहल–पहल सुरु भएको छ । पुस २० गते हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उम्मेदवारी दर्ता गरिएको थियो भने मंगलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले प्रकाशित गरेको सूची अनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापाका र अधिवक्ता प्रेमसिंह धामीले उम्मेदवारी दिएका छन्। धामी गठबन्धन नगरी एक्लै अध्यक्षको दाबेदार हुन् । पोखरेल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायी संगठन डिएलए र एसपिएलका साझा उम्मेदवार हुन्। थापाका पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत विभिन्न दलनिकट कानुन व्यवसायी तथा तिनका संगठन बनेको महागठवन्धनको साझा उम्मेदवार हुन् । डिएलले समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको छ भने एमालेले पनि अध्यक्ष बाहेक अन्य पद साना दलहरु निकटलाई दिँदै चुनावी मैदानमा उत्रेको छ ।
उपाध्यक्षमा पनि तीनैजना मैदानमा छन् । उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।