images

सेयर बजार २८ महिनायताकै उच्च विन्दुमा, १४ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ३.०२ प्रतिशत अर्थात ७५.३३ अंक बढेर २५ सय ६३ अंकमा कायम भएको छ ।

निरन्तर ६ दिनको वृद्धिपछि नेप्से परिसूचक २५ सय विन्दुभन्दा माथि बन्द भएको हो । साउन महिनाको पहिलो कारोबार दिनदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।

मंगलबार नेप्से परिसूचक २५ सय ६३.४३ विन्दुमा पुगेको छ । यो २८ महिना यताकै उच्च विन्दु हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.४० अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७८ अंक बढेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ ।

अघिल्लो कारोबार दिन करिब १४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको १ लाख ७१ हजार ३८७ पटकको कारोबारमा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ०६ प्रतिशत बढेको छ।

त्यस्तै, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

अघिल्लो कारोबार दिन करेक्सन भएको बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन पुनः बढेको छ । सो उपसमूहको परिसूचक यस दिन २ दशमलव ३९ प्रतिशत बढेको छ । यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
०००