images

स्थगित बन्दसत्र गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरु अनसन बसेका छन् ।

विद्यार्थी नेताहरुले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा मंगलवार अनसन शुरु गरेका हुन् । स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको भएपनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस शुरु भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रिय कार्यालय प्रमुख केशव रावलसहित विद्यार्थी नेताहरुले अनसन शुरु गरेका हुन् । सम्मेलनको स्थगित प्रक्रिया शुरु गर्न तीन हप्ता समेत बाँकी नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी नगर्दा सम्मेलनको बन्दसत्र झन अनिश्चित भएको अखिल क्रान्तिकारीका निःवर्तमान केन्द्रिय उपाध्यक्ष रावलले बताएका छन् ।

उनले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरु गरेको बताएका छन् । पार्टी कार्यालयमा आमरण अनसन बस्नेहरुमा रावलसहित निःवर्तमान केन्द्रिय सदस्य जनक ढुंगाना र निःवर्तमान केन्द्रिय सदस्य खगेन्द्र रावल रहनुभएको छ ।