images

हट्यो टिकटकमाथिको प्रतिबन्ध, पर्यटन प्रवर्द्धनसहितका ४ सर्तहरू पूरा गर्नुपर्ने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कनट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको छ ।
साथै सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटी बेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन्ट बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त राखेको छ । सरकारले राखेका सर्तहरू पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । उनले सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्ने गरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने बताए ।
उनले भने, ‘सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, त्यो सूचीकरण गर्दा सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कनट्याक्ट तोक्नुपर्ने । सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सूचीकरण गर्ने कुरामा हामीसँग सहमति भइसकेको छ । टिकटकले अब सञ्चालनमा आउँदा प्वाइन्ट अफ कनट्याक्ट तोकेर आइसकेपछि २०८० साल असोज २७ गते टिकटकमा लगाएको प्रतिबन्ध हटाउने । कार्यान्वयनमा आउन उनीहरुले आफ्नो सर्तअनुसार आउनुपर्छ । हाम्रो पर्यटन प्रवर्द्धनमा टिकटकले सहयोग गर्नुपर्ने । डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने । सार्वजनिक शिक्षामा र आइटी बेस बनाउन पनि सहयोग गर्नुपर्ने । नेपाली भाषाको फिल्टरिङ गरेर जे कारणले बन्द गरिएको भनिएको छ, टिकटकले मात्रै होइन, अरू सामाजिक सञ्जालले पनि भोलि गर्न नपाउने गरेर भाषामा कस्तो कस्तो प्रयोग गर्न पाउने रु सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न भएन । त्यो नियन्त्रण गर्ने गरी समझदारी भएको दिनदेखि प्रतिबन्ध खुल्छ । टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कनट्र्याक्ट दिन, हाम्रा मुद्दामा सहयोग गर्नुपर्छ ।’
तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० साल असोज २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मन्त्री गुरुङले टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कनट्र्याक्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्ने गरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताएका छन् ।