
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन्।
नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताएका हुन् ।
युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ। युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ।
कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनी पाल्पा गएका हुन्। मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताएका छन्। अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिई परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ।