images

१० औं राष्ट्रिय खेलकुदको भाका पटक पटक सारिँदै, जेठमा सम्पन्न हुनेमा पनि शंका कायमै( भिडियोसहित)

काठमाडौं । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि तोकिएको समयमा नहुने भएको छ । दुई पटक तोकिएको समयमा सम्पन्न हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः तेस्रो पटक सरेको हो । चैत अन्त्यमा तय भएको मितिमा समेत प्रतियोगिता नहुने भएपछि यो वर्ष प्रतियोगिता नहुने भएको छ । कर्णाली प्रदेशमा हुने तय भएको दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । खेलकुदमन्त्री चौधरीका अनुसार अर्थ मन्त्रालयले फाइल अड्काएका कारण प्रतियोगिता अन्योलमा परेको हो ।

यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । खासमा प्रतियोगिता गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना भइसक्नुपर्ने थियो ।तर सरकारको प्राथमिकतामा नपर्दा लगातार सर्दै आएको छ ।

खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल सरकारले हालै जारी गरेका अध्यादेशका कारण खेलकुद प्रभावित भएको बताउँछन् ।

उता, कर्णाली खेलकुद परिषद्ले भने १० औं राष्ट्रिय खेलकुदका लागि आफूहरू तयार भएको दाबी गर्छ । देशकै सबैभन्दा ठुलो खेलकुदको कुम्भ मेला यसरी पटक–पटक सारिँदा खेल प्रेमीहरू निराश बनेका छन् भने सम्बन्धित निकायको लापरबाही छताछुल्ल भएको छ ।