images

मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताएका छन् ।

शुक्रवार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

मन्त्री घिसिङले मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग गरेको पनि उल्लेख गरे । सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रीपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिनुहुने उनको भनाई थियो । मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम शुरु गरिसकेको पनि बताएका छन् ।

मन्त्री घिसिङले भने,’मन्त्रीपरिषदले अव चाँडै पूर्णता पाउँछ । सरकारले सरसफाईको काम आ आफ्नो मन्त्रालयमा शुरु गरिसकेका छौं । भोलेन्टियर साथीहरु पनि आउनुभएको छ । उहाँहरुलाई पनि हामीसँगै लिएर जान्छौं । विभिन्न संघ संस्थाका साथीहरु पनि आउने अवस्थामा हुनुहुन्छ । उहाँहरु सबैलाई पनि आह्वान गर्दछौ । र सरकारले आफूले गर्नुपर्ने कामहरु अगाडि बढाईसकेको छ । अक मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछ । मन्त्रीपरिषदलाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ ।‘

सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिन ढिलाई गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङले अब ढिलाई नहुने बताए । त्यस अवसरमा उनले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुटन पनि सबैलाई आह्वान गरेका छन् ।