images

प्रचण्डको भारत भ्रमणको साँठगाँठ के ?

काठमाडौँ असार १ । सत्तागठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारत भ्रमणमा छन् । उनको भारत भ्रमणले भने नेपालमा अनेकौ टिकाटिप्पणी भइरहेका छन् । साथै भारत भ्रमणकै क्रममा उनले शनीबार नेपाली काँग्रेस नेतृ आरजु राणा देउवासँग भेट गरे । यो सँगै उनको भारत भ्रमणले ठूलो चर्चा पाएको छ ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमणमा गएका उनले १९५० को सन्धिलाई पूनरावलोकन हुनुपर्ने बताएका छन् । भारतीय विदेशमन्त्री एस जय शंकर सँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

एसपीपी काण्ड
चर्को विवाद र आन्दोलनकाबीच प्रतिनीधी सभाबाट ब्याख्यात्मक घोषणासहित एमसीसी पारीत भयो । एमसीसी सम्झौता पारीत हुँदै गर्दा नेपाली जनताले शीर्ष भनिएका नेताहरुको दोहोरो चरित्र मज्जाले चिन्ने मौका पाए । संसद भवन बाहिर आन्दोलनका नाममा सयौँ कार्यकर्तालाई ढुङ्गामुढा गर्न लगाउने र आफु संसद भित्र बसेर स्वार्थको पासा पल्टइरहे र अन्ततः ब्याख्यात्मक घोषणाको नाममा एमसीसी सम्झौता अनुमोदन भयो ।

एमसीसी सम्झौता अनुमोदन हुँदै गर्दा अमेरीकी सेना नेपाल आउछ भन्दै उक्त विषयलाई राजनीतिकरण गरी निकै गीजोलीएको थियो । आम नागरीकसमेत पक्ष विपक्ष गरी दुई भागमा विभाजित भएका थिए । अझ कतिपय नेताहरुले त झन् एमसीसी पास भएपछि अमेरीकी सेना नेपाल आएमा आफूलाई सर्वस्वहरणसहित चारपाटा मुडेर थानकोट कटाइ दिुनु भन्ने अभिव्यक्ति नै दिएका थिए । एमसीसी सम्झौता अनुमोदन भएपश्चात नेपालमा अमेरीकी प्रभाव स्वभाविक रुपमा बढ्दै गयो । 

स्टेट पार्टनरसीप प्रोग्राम सन् २०१५ बाटै चर्चा भएपनि ७ बर्षसम्म कसैले चासो देखाएनन् या लुकाइयो त्यो अझै रहस्यमयको गर्भ भित्रै छ। तर जब एमसीसी सम्झौता अनुमोदन भयो नेपालमा अमेरीकी दबदबा बढ्दै गयो त्यसपछि भने एसपीपी सम्झौताको विषयमा कुरा उठ्यो । प्रधानमन्त्री देउवा उक्त सम्झौतामा हस्ताक्षर गर्नैकै खातिर अमेरीका भ्रमणमा जाने कुराले पनि राजनीतिक वृत्तमा हलचल नै ल्यायो । यद्यपी अमेरीका भ्रमणमा राष्ट्रघाति कुनैपनि काम नगर्ने भनेर प्रधानमन्त्री देउवाले आफ्नो बचाउ गरे ।

चौतर्फी आलोचना पछि सरकारले एसपीपी सम्झौता नगर्ने निर्णय गरेर अमेरीकालाई प्रचार गर्ने भन्यो तर अझै पनि अमेरीकालाई पत्र नपठाएको कुरा संसदमा विवादित नै बनेको छ । अझ सत्तासाझेदार नेकपा एसका नेता माधव नेपालले एसपीपी सम्झौता नगरेकै कारण प्रधानमन्त्री देउवाको अमेरीका भ्रमण रद्ध भएको ठोकुवा समेत गरे ।

चिनीयाँ नेताको भ्रमणले दिएको सन्देश

असार २७ गते सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियानछाओ सहितको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको थियो । सोही क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेको थियो । त्यसक्रममा नेपालको असंलग्न विदेशनीति र वाम दलहरूबीचको एकतासहितका विषयमा छलफल भएका विवरणहरू पनि आएका छन्। चिनीयाँ नेतासँगको भेट भएको भोली पल्टै काठमाडौँस्थित भारतीय दुतावासले प्रचण्डलाई निम्तो पठाएको थियो । त्यसैले पनि उनको भारत भ्रमणलाई विशेष रुपले हेरीएको छ ।

विशेषगरी नेपालमा एमसीसी लागु भएदेखी अमेरीकी रक्षा साझेदारी स्टेट पार्टनरसीप प्रोग्राम सम्म आइपुग्दा नेपालमा बढ्दो अमेरीकी प्रभावले पनि चिन र भारतको चासो बढेको हुनसक्ने कतिपयको आँकलन छ । एमसीसी सम्झौता अनुमोदन भइसके पछि चिन नेपालसँग चिढिएको थियो । त्यसैले पनि चिनियाँ प्रतिनीधिमण्डलसहितको टोली नेपाल आएको हुनसक्ने देखिन्छ । नेपाली काँग्रेस र माओवादीको गठबन्धन सरकार हुँदा नेपालमा एमसीसी सम्झौता पारीत भएको हो । साथै नेपालमा राजनीतिक हस्तक्षेपको पाटोलाई हेर्ने हो भने अमेरीका र भारत एकातिर र चिन एकातिर हुने गरेको छ । यसै कुरालाई मध्यनजर गरेर पनि होला एमसीसी सम्झौता अनुमोदन भए यता चिनीयाँ नेताहरुले पनि नेपाल भ्रमणको पाटोलाई बढाएको देखिन्छ ।

सत्ता गठबन्धनको निरन्तरता या क्रम भंगता ?

सत्ताधारी दलका नेताहरुको विदेश भ्रमण नौलो कुरा होइन । खास तवरमा नेपालका नेताहरु भारत भ्रमणमा जानु पनि ठूलो कुरा होइन तर नेपालको राजनीतिमा अहिले जुन प्रकारको द्धन्द्ध चलिरहेको छ, त्यसले गर्दा पनि प्रचण्डको भारत भ्रमण चर्चाको विषय बनेको हो । वाम एकताको लागि ओलीले अपिल गर्नु, कम्युनिष्ट नेताहरु गठबन्धन भन्दा पनि ओलीतीर ढल्कीनु, काँगे्सको कार्य समितिमा आन्तरीक किचलो बढ्नु जस्ता विषयले गठबन्धन चुनाव सम्म टिक्छ कि टिक्दैन भन्ने शंका पनि पैदा गरेको देखिन्छ । नेपाली काँग्रेस भित्र पछिल्लो समय काँग्रेस महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको जुन रुपमा उदय भएको छ त्यसले पनि गठबन्धनमा डर पैदा गरेको छ । आउने संसदीय चुनावमा काँग्रेसले ल्याउने मत, गठबन्धन दल माओवादीमा पर्ने प्रभावलाई पनि भारतले मध्यनजर गरेको हुनसक्छ ।

प्रचण्डको भारत भ्रमणले उब्जाएका प्रश्नहरु

उपचारको क्रममा दिल्लीमा रहेकी आरजु देउवा र प्रचण्डको भेट हुनुले पनि दील्लीमा केही न केही खिचडी पाक्ने सामाजिक सञ्जाल र राजनीतिमा चासो राख्ख्नेहरुको अड्कल छ ।

प्रचण्डको भारत भ्रमणलाई लिएर प्रतिपक्षी दलका नेता शंकर पोखरेलले सत्ता गठबन्धनले नेपालमा भारतीय चलखेल बढाएको आरोप लगाएका छन् । एक कार्यक्रममा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस नेतृ आरजु देउवाको दील्ली भ्रमणले नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गरेको आरोप लगाएका हुन् ।

जब जब नेपालमा राजनीतिक उतार चढावहरु आउछन् तब नेपाली शीर्ष नेतृत्वहरु भ्रमणका नाममा होस् या आमन्त्रणका नाममा विदेश भ्रमणमा जाने गरेको देखिन्छ । आन्तरीक विवादको फाइदा उठाउदै नेपाली राजनीतिमा अन्तराष्ट्रिय राजनीति हाबी भएको देखिन्छ । यसले गर्दाखेरी नेपालको राजनीति बाह्य तत्वले चलाइरहेको होकी भन्ने भान गराइ रहेको छ । शीर्ष नेतृत्वहरुले एक अर्कासँग विमति लीनु, आन्तरीक कुराहरुमा विदेशी हस्तक्षेप हाबी हुन दिनुले अन्तर्राष्ट्रिय जगत मै नेपालको छबीमा नकारात्मक असर पर्ने देखिन्छ । उत्तरसँग साठगाँठ गर्दा दक्षिण चिढिने, दक्षिणसँग साँठगाँठ गर्दा उत्तर रिसाउने प्रवृतिले गर्दा नेपालको स्वतन्त्र परराष्ट्र नीति मै आँच पुगेको होकी भन्ने प्रश्न खडा गरेको छ ।