images

सर्वेन्द्र खनाललाई एमालेले काठमाडौँमै बनायो उम्मेदवार, बादलको व्यवस्थापन काठमाडौं १०

काठमाडौं, २० असोज । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई नेकपा (एमाले)ले संघीय प्रतिनिधि सभामा उम्मेदवार बनाउने भएको छ ।

नेकपा एमालेले खनाललाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाउने भएको हो । गत असोज ६ गते मात्रै एमाले प्रवेश गरेका खनाल सेवानिवृत भएसँगै विवादमा आएका थिए । कोरोनाले लकडाउन भएका बेला सर्लाहीबाट एक सांसदलाई काठमाडौंमा ल्याएर केपी ओली नेतृत्वको सरकार जोगाउने खेलमा लागेको भन्दै उनी त्यसबेला विवादमा मुछिएका थिए । तत्कालीन जनता समाजवादी पार्टीले उनलाई आफ्नो सांसद अपहरण गरिएको आरोप लगाएको थियो ।

त्यतिबेला निकै विवादमा आएका खनाल लामो समय चर्चामा नआइए असोज ६ गतेमात्रै औपचारिक रुपमा एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष ओलीले च्यासलमा रहेको पार्टी कार्यालयमा स्वागत गरेका थिए ।

यसैगरी नेकपा एमालेले काठमाडौँ १० बाट पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ । चितवनबाट उम्मेदवार बन्ने हल्ला चलेका पूर्व माओवादी नेता समेत रहेका उपाध्यक्ष थापालाई काठमाडौं १० व्यवस्थापन गर्न लागिएको एमालेका एक नेताले जानकारी दिए ।