![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2025/02/m30-bigya-sujhav.jpg?fit=1568%2C742)
काठमाडौं । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा बहस हुन थालेको लामो समय भयो । पछिल्लो समय नेकपा माओवादी केन्द्रले यो मुद्दालाई जोडतोडले उठाइरहेको छ । यसै बीच नेपालको लोकतन्त्र सुदृढीकरणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन् ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमासमेत विज्ञहरूको जोड छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरूले नेपाल जस्तो मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न आवश्यक रहेको बताएका हुन् ।
नेपालको निर्वाचन बढीभन्दा बढी खर्चिलो भइरहेको उल्लेख गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान आवश्यक रहेको उनीहरूको भनाइ छ । बैठकमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले वर्तमान निर्वाचन प्रणाली लोकतन्त्रको सुदृढीकरणकै लागि चुनौती बन्दै गएको बताएका छन् । उनले पूर्ण समानुपाती निर्वाचन प्रणाली आजको आवश्यकता भएको उल्लेख गर्दै यसका लागि राजनीतिक दलहरू र नेताहरू पूर्वाग्रहबाट टाढा जान जरुरी रहेको औँल्याएको छन् ।
बैठकमा बोल्दै नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले वर्तमान निर्वाचन प्रणाली निकै अस्वस्थ रहेको बताएका छन् । उनले निर्वाचन प्रचार, पैसामुखी र प्रविधिमुखी हुँदै गएको भन्दै महिला, दलित र जनजातिले निर्वाचनमा भाग लिनसक्ने स्थिति नै नरहेको बताएका छन् ।
बैठकमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले प्रवासमा रहेका नेपाली नागरिकले समेत निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । ६० लाख नेपाली प्रवासमा रहेको उल्लेख गर्दै उनीहरूको निर्वाचन प्रणालीमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने भण्डारीको भनाइ छ ।
प्रवासमा रहेका नेपाली नागरिकलाई भोटिङ राइट्स दिन पर्याप्त छलफल र बहस गर्न जरुरी रहेकोमा समेत विज्ञहरूले जोड दिएका छन् ।