images

सर्लाहीमा सुनचाँदी व्यापारीलाई अपहरण गर्ने भारतीयको असफल प्रयास, नवलपुर आन्दोलित

सर्लाही, २५ पुस । सर्लाहीको नवलपुरमा आएर स्थानीयलाई अपहरण गरी लिन खोज्ने भारतीय प्रहरी विरुद्ध स्थानीयले आन्दोलन सुरु गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर चोकमा सुनचाँदी पसल चलाइरहका व्यापारीलाई अपहरण गरेर लग्न खोज्दा स्थानीयको नियन्त्रणमा परेका भारतीय प्रहरीलाई नेपाल प्रहरीले संरक्षण गरेर लुकाएको भन्दै स्थानीयले बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन ।

आइतबार साँझ साढे ६ बजेतिर भारतीय प्रहरीको पोशाकमा आएका केही व्यक्तिहरुले नवलपुर चोकको आफ्नै पसलमा रहेका सुनचाँदी व्यापारी गुड्डू साह सोनारलाई अपहरण गर्न खोजेका थिए । तर, तत्काल वरिपरि रहेका स्थानीय व्यापारीहरु जम्मा भई प्रतिकार गर्न थालेपछि अपहरण गर्न खोज्नेहरु भागेका थिए । गाडीमा भाग्ने क्रममा एकजना भारतीयलाई स्थानीय व्यापारीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएका थिए ।

स्थानीयले नियन्त्रणमा लिइ बुझाएका भारतीय प्रहरीलाई सर्लाही प्रहरीले रातारात लुकाएको भन्दै आज स्थानीय व्यापारीहरु आन्दोलनमा उत्रेका हुन् । स्थानीय व्यापारीका अनुसार उनीहरुले नियन्त्रणमा लिएका भारतीयलाई सुरुमा इलाका प्रहरी कार्यालय लालबन्दी लगिएको थियो । इलाका प्रहरी कार्यालय लालबन्दीले उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवा बुझाएको थियो । उनी को थिए र अहिले कहाँ पुर्याइयो भन्नेबारे सर्लाही प्रहरीले केही पनि सार्वजनिक गर्न मानेको छैन ।

यसबारेमा बुझ्न खोज्दा सर्लाही प्रहरी प्रमुख एसपी रमेश सुवेदीले टेलिफोन उठाएका छैनन । हाम्रा सर्लाही संवाददाता राम …. का अनुसार उनलाई जिल्ला प्रहरी कर्यालयमा लगिएको तर त्यसपछि कता लगियो भन्ने केही थाहा हुन सकेको छ्रैन ।

यसरी अपहरण गर्न खोजिएको थियो

आइतबार साँझ करिव साढे ६ बज्न थालेको थियो । सर्लाही नवलपुरका सुनचाँदी व्यवासायी गुड्डु साह पसल बन्द गर्ने तरखरमा थिए । उनको पसलमा उनी आफ्ना केही सहयोगी सहित पसलमा थिए । त्यहीबेला एउटा जिप उनको पसल अगाडि आएर रोकिन्छ र जिपबाट भारतीय प्रहरीको पोशाक लगाएका एक व्यक्ति उत्रेर गुड्डू साहको पसलतिर आउँछन । उनले नेपाली भाषामै व्यापारी गुड्डू साहलाई ‘डिआईजी साहेवले भेट्न बोलाउनुभएको छ’ भनेर भन्छन् । उनले नजिक रहेको जिपतिर देखाएर त्यहाँ डिआइजी साहेव हुनुहुन्छ भनेपछि व्यापारी गुड्डू साह बोलाउने मान्छेसँगै जिपतिर जान्छन । जब उनी गाडी नजिक जान्छन्, त्यहीबेला गाडीबाट मुख छोपेका मान्छेहरु एकाएक झरेर व्यापारी साहलाई गाडीमा जवरजस्ती चढाउन खोज्छन् । त्यसपछि उनी कराउँछन । गुड्डू साह कराएर उनीहरुबाट फुत्कन खोजेपछि वरपरका मानिसहरु जम्मा हुन्छन र प्रतिकार गर्न खोज्दा त्यो जिप भाग्छ । जीपमा मुख छोपेका अरु भागे पनि एकजनालाई भने स्थानीयले समात्न सफल हुन्छन् ।

अपहरणमा पर्न खोजेका गुड्डू साह भन्छन, ‘मलाई एकजनाले आएर डिआइजी साहेव आउनुभएको छ, तपाईलाई बोलाउनुभएको भनेर भन्यो । म नमस्कार भन्दै म जिप नजिक पुग्दा मुख छोपेका मान्छे गाडिभित्र देखे । त्यसपछि उनीहरु ओर्लिएर मलाई जवरजस्त गाडीतिर धकेल्दै चढाउन खोजे । त्यसपछि मैले प्रतिकार गरे र मेरो पसलमा रहेका मेरा साथीहरु र अरु वरपरका व्यापारी साथीहरुको मद्दतले म जोगिएँ । भिड जुट्न थालेपछि उनीहरु भागे ।’

नवलपुरका व्यापारी भन्छन, “नेपालको राजमार्गमा भारतीय प्रहरी खुल्लमखुल्ला आउँछन, व्यापारीलाई अपहरण गर्छन । तर, यस्तो हुँदासम्म पनि स्थानीय प्रहरीले केही थाहा पाउँदैन । स्थानीयले नियन्त्रणमा लिएका अपहरणकारीलाई उल्टै नेपाल प्रहरीले गायव बनाउँछ । हाम्रो सुरक्षा खै ।”