images

म्याच फिक्सिङ आरोपमा पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ

काठमाडौँ । म्याच फिक्सिङ आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा आलमलाई विराटनगरबाट पक्राउ गरिएको मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन। उनलाई प्रहरीले बिराटनगर बसपार्कबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’का बारेमा अनुसन्धान गरिरहेको छ । उक्त कार्यमा आलम संलग्न रहेको ब्यूरोले निष्कर्ष निकालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी उपरिक्षक सञ्जयसिंह थापा नेतृत्वको स्पट फिक्सिङबारे छानविन गरिरहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पनि स्पष्ट फिक्सिङमा सम्लग्न रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । भारत घर भएका जतिनले काठमाडौं छाडिसकेको प्रहरीले जनाएको छ ।