images

न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतको ’क्लिन स्वीप’

काठमाण्डौ । न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले ’क्लिन स्वीप’ गरेको छ ।

तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो ।

शृंखला ३–० ले जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभर २ बलमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले १ सय ३८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन÷तीन विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो । भारतका शुभमन गिलले १ सय १२ रन जोडे ।

कप्तान रोहित शर्मा १ सय १ रनमा आउट भए । न्युजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले तीन÷तीन विकेट लिए । भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच अब तीन खेलको टी–२० शृंखला हुनेछ ।

पहिलो खेल शुक्रवार, दोस्रो खेल आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।