काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको आइतबार निधन भएको छ । पाकिस्तानका स्थानीय सञ्चारमाध्यमका अनुसार संयुक्त अरब इमिरेट्सस्थित अमेरिकी अस्पतालमा उनको उपचार भइरहेको थियो ।
७९ वर्षीय मुशर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा शासन गरेका थिए । मुसर्रफ सन् २०१६ को मार्चदेखि दुबईमा बस्दै आएका थिए । पछिल्लो समय उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए र पूर्ण रूपमा ह्वीलचेयरमा निर्भर थिए ।
११ अगस्ट १९४३ मा नयाँ दिल्लीको दर्यागञ्जमा जन्मेका मुशर्रफ सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनमा आफ्नो परिवारका साथ पाकिस्तान जाने निर्णय गरेका थिए । उनको सम्पूर्ण परिवार विभाजनको केही दिनअघि पाकिस्तान पुगेका थिए। ।
मुशर्रफलाई डिसेम्बर २०१३ मा पाकिस्तानमा ३ नोभेम्बर, २००७ मा संकटकाल लगाएको र डिसेम्बर २००७ को मध्य सम्म संविधान निलम्बन गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो । मुशर्रफलाई मार्च ३१, २०१४ मा दोषी ठहर गरि मृत्युदण्डको सजाय सुनाइएको थियो । पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा रहेको विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।