images

नेपालका पहिलो गर्भनर जबराको निधन

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव तथा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । जबराको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा बिहान करिब साढे ६ बजेतिर निधन भएको हो । ९५ वर्षका जबराको स्वास्थ्यमा खराबी आएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

जबरा २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु) को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।

जबराले जागिरबाट अवकाश पाएपछि गोर्खा ब्रुअरी नामक कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्राएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।

जबरा गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खोलेका थिए । त्यसबाट नेपाल–जापानमा मुद्रा विनिमयमा सहज हुनुका साथै दुई देशबीचको आर्थिक सम्बन्ध पनि विकास भएको थियो ।

जापान सरकारबाट उनले उच्च श्रेणीको ‘द अर्डर अफ द राइजिङ सन’को ‘गोल्ड एण्ड सिल्भर’ अवार्डसमेत पाएका थिए ।