images

चितवन-२ मा स्वतः विजयी घोषणा माग गर्दै आयोग पुगे श्रेष्ठ, आयोग भन्छ उपनिर्वाचनको विकल्प छैन्

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुग्नुभएको छ ।

चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहनुभएको थियो ।

१३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो । रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छ ।

जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस् भनेर आफू आयोगमा गएको उहाँको भनाइ छ ।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानूनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताउनु भयो ।

सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेको कारण रहेको भन्दै उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताउनु भयो ।