images

देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट, भोलि सुनुवाई हुने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै रिट दर्ता भएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध पोखरेलले निवेदन दिएका थिए । न्यायाधीश प्रधानले रिट दर्ता गरि सुनुवाइका लागि पेश गर्न आदेश दिएसँगै बुधबार सुनुवाइ हुने भएको छ ।

रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन समेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिका नदिन रिटमा भनिएको छ । यस्तै संसद सचिवालयबाट कुनै पनि सेवा सुविधा नदिन समेत निवेदकको माग छ ।