images

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुने

काठमाण्डौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदो वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपचुनाव गर्ने गरी चुनावको मिति तोक्ने निर्णय गरेको हो ।

चितवन संघीय निर्वाचन क्षेत्र नं.२ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उनको पद गएको थियो । यससँगै आयोगले उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ । साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।