images

पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री प्रा.डा.मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि दम र छाती रोगका संक्रमणबाट पीडित श्रेष्ठको सोमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । श्रेष्ठ मानवअधिकार क्षेत्रका अगुवासमेत थिए । 

वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि सारेका थिए ।
२०४६ सालमा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनि नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए ।

यसैबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा.श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।