images

शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको वृद्धि देखिएको छ । आज शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढ्दा बीमा, जलविद्युत् र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ६९ वटा कम्पनीका ४७ लाख ७९ हजार कित्ता शेयर एक अर्ब ८० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १३ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज लिबर्टी इनर्जी, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार बढे पनि आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।