images

सरकारले गर्‍यो माघ महिनासम्म झण्डै २३ अर्ब रुपैयाँ रकमान्तर

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनासम्म झण्डै २३ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार पूँजीगत बजेटतर्फ १ करोड रुपैयाँ भन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को उपशीर्षकमा उक्त रकम बराबरको रकमान्तर भएको हो । यस्तो रकम २२ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । जसमा सबैभन्दा धेरै पुस महिनामा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पुसमा मात्र २२ अर्ब २ करोड ५० लाख रुपैयाँ रकमान्तर भएको छ । यस महिनामा सरकारले विकास ऋणलाई ट्रेजरी बिलमा रकमान्तर गरेको थियो ।

ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्ने प्रयोजनका लागि यो रकम रकमान्तर भएको मन्त्रालयले जनाएको छ । यसबीचमा बन्चरे डाँडास्थित ल्याण्डफिल्ड साइट पुग्ने सडकको स्तरोन्नतीका लागि भएको रकमान्तर समेत समावेश छ ।