images

राष्ट्रपति निर्वाचन : देउवाले ओलीलाई पत्र पठाउँदै मागे पौडेलका लागि भोट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् ।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ओली निवास बालकोट पुगेर बुझाएका छन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् । देउवाले ओलीलाई पठाएको पत्रमा पौडेल निर्विवाद र सुयोग्य उम्मेदवार भएको भन्दै पौडेललाई समर्थन गर्न आग्रह गरिएको छ ।