images

विश्वकप क्रिकेट लिग–२ मा नेपालद्वारा पीएनजी ३ विकेटले पराजित

काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको छ । पपुवा न्यु गिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाए भने सन्दीप लामिछानेले ३५ रन बनाए । आसिफ सेखले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन बनाएका हुन् ।

त्यसैगरी ५० बल खेलेका सन्दीप लामिछानेले ३ चौकासहित ३५ रन बनाएका हुन् । नेपालका लागि आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी महत्त्वपूर्ण रह्यो । आसिफ र सन्दीपले ८औं विकेटका लागि ७७ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८औं विकेटका लागि नेपालको यो अहिलेसम्मकै उच्च साझेदारीसमेत हो ।

लिग–२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ५ मध्येको ३ खेल जित्नु पर्नेछ । नेपाल ३१ खेलमा ३० अंकसहित सात राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ ।

लिग–२ को शीर्ष तीन टोली जुलाई जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै पुग्ने छन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो र यूएई ३० खेलमा ३१ अंक जोडी पाँचौं स्थानमा छ । पपुवा न्यु गिनी ३१ खेलमा ७ अंकसहित पुछारमा छ ।