images

बैंक तथा फाइनान्सले घटाए ब्याजदर

काठमाडौं । बैंकहरूले आज चैत १ गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।

फागुनमा बचतमा ६ दशमलव ४२ देखि ८ दशमलव ४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् । बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने यथावत छ । फागुनमा नै स्ट्यान्डर्ड चार्टर्डले बचतमा ६.४२ देखि ७.४२ प्रतिशत ब्याजदर दिएको थियो ।

बैकहरूले बचतमा दिएको ब्याजदरको तल्लो सीमा र मुद्दती निक्षेपको माथिल्लो सीमा बिचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकहरूले सोही सीमाभित्र रहने गरी बचतमा न्युनतम ६ प्रतिशत कायम गरेर मुद्दतीको ११ प्रतिशत ब्याजदर यथावत राखेका हुन् ।

वाणिज्य बैंकले बचतको मात्रै ब्याजदर घटाए पनि विकास बैंक र वित्त कम्पनीले भने मुद्दतीको ब्याजदर पनि सामान्य घटाएका छन् ।