images

दोहोरो अङ्कले बढ्यो शेयर बजार, १ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । अघिल्लो साता निरन्तर घटिरहेको सेयर बजारमा पछिल्लो समय लयमा फर्किने संकेत देखिएको छ ।

सोमबार र मंगलबार लगातार दोहोरो अंकले बढेर बजारले यस्तै संकेत दिएको छ । मंगलबार १२ दशमलव १० अंकले बढेको बजार १९१८ दशमलव १० विन्दुमा पुगेर रोकिएको छ ।

शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो । मंगलबार २५८ वटा धितोपत्रको ३५ हजार ९२६ वटा कारोबारबाट ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, वित्त र निर्जीवन बीमा उपसूचक घटे । अन्य उपसूचक भने बढेका छन् । यसमा पनि सबैभन्दा बढी लघुवित्त उपसूचक बढेको छ ।

मंगलबार सुपरमाइ हाइड्रो, सृजनसिल लघुवित्त, एसियन हाइड्रो, महिला लघुवित्त, नेरुडे लघुवित्तसहितका कम्पनीको मूल्य सबैभन्दा धेरैले बढेको छ । तेह्रथुम पावर, मितेरी विकास बैंक, वेस्ट फाइनान्ससहितका कम्पनीको मूल्य धेरैले घटेको छ ।

आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, अपि पावरसहितका कम्पनीको धेरै कारोबार भएको छ ।