images

नेप्से सामान्य अंकको वृद्धि, कारोबार रकम साढे ३ महिना यताकै न्यून

काठमाडौं । बुधबार शेयरबजार सुस्त देखिएको छ । अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको बजार यस दिन सामान्य अंक मात्र बढेको छ ।

त्यसैगरी, यस दिन कारोबार रकम पनि १ अर्बभन्दा तल रहेको छ । यस दिन नेप्से परिसूचक १ दशमलब ०२ अंक बढेर १ हजार ९ सय १९ दशमलब ४२ विन्दुमा पुगेको छ । त्यसैगरी, बुधवार सेन्सेटिभ इण्डेक्स ० दशमलब ६८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलब २० अंकले बढेको छ ।

यस दिन फ्लोट इण्डेक्स भने ० दशमलब ०७ अंक घटेको छ । आज २ सय ५८ स्टकको २५ हजार ४ सय १३ पटकको कारोबार भएको थियो । जसबाट । ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यो साढे ३ महिना यताकै न्यून हो ।

यस अघि मंसिर २८ गते ७२ करोडको शेयर कारोबार भएको थियो । सोपश्चात यस दिन न्यून रकमको कारोबार भएको हो ।

नेप्से सामान्य अंक बढेपनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबार सुपरमाई हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन धौलागिरी लघुवित्रको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबारमा आएको खप्तड लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ ।