images

थ्री नेसन्स कप फुटबलमा उपाधिका लागि आज नेपाल र लाओस भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनल खेल आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्दै छन् ।

फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । घरेलु समर्थकको साथ पाउने नेपाल आफु भन्दा तल्लो वरीयताको लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । यता, लाओस पनि नेपाललाई घरेलु मैदानमै हराएर उपाधि उचाल्न चाहन्छ ।

फिफा वरीयतामा नेपाल लाओस भन्दा अघि रहेको छ । नेपाल १७५ औं स्थानमा रहेको छ । लाओस १८७ औं स्थानमा रहेको छ ।

एसियाली प्रतिद्वन्दी लाओस नेपालका लागि नौलो टोली हैन । नेपालले यस अघि तीन पटक लाओससँग प्रतिस्पर्धा गरिसकेको छ । जसमा नेपालले लाओसविरुद्ध हार व्यहोर्नु परेको छैन ।

२०१६ को मे १६ मा नेपालले पहिलो पटक लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले लाओससँग १-१ गोलको बराबरी खेलेको थियो । नेपालले दोस्रो पटक २०१६ कै नोभेम्बर १२ मा लाओसविरुद्ध खेलेको थियो । जसमा २-२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३-० ले खेल जितेको थियो ।

लाओसविरुद्ध नेपालको तेस्रो भेट जारी थ्री नेसन्सकै पहिलो खेलमा भएको थियो । जसमा नेपाल २-० ले विजयी भएको थियो ।

नेपाल र लाओसबीचको यो प्रतिस्पर्धा चौंथो भेट हो । आज नेपाल आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । लाओस भने अघिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।