images

मौद्रिक नीति सार्वजनिक : मूल्य वृद्धिदर ६.५ प्रतिशतमा कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

आइतबार केन्द्रीय बैंकको बोर्ड बैठकले आर्थिक वर्षको मौद्रिक नीति पारित गरेसँगै वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ।

राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो।

बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको उल्लेख गरेको छ ।

वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहेको उल्लेख छ ।

ठूला कर्जाहरूको अनुगमन, नियमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको केन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने र कर्जाको गुणस्तर तथा पहुँच अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवर्धन गर्नेतर्फ मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी नियामकीय नीतिहरू तर्जुमा गरिएको पनि उल्लेख छ ।