images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सकिदैछ ।

मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।

यही साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसके पछि सोमबार पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए । जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका राखेका थिए ।

कांग्रेसले आगामि मंसिरमा नीति महाधिवेशन गर्ने विषयमा भने समझदारी जुटाएको छ । पार्टी महाधिवेशनको ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन डेढ वर्षसम्म पनि हुन सकेको थिएन ।

आजको बैठकमा सदस्यहरुले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको छ ।