images

भ्रष्टाचार विरोधी अभियानमा सबैको साथ आवश्यक : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् ।

भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याउने र निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

शनिबार राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

शहीद तथा बेपत्ता योद्धाले ऐतिहासिक राजनीतिक परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको भन्दै मन्त्री श्रेष्ठले त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्नेमा जोड दिए ।

सुशासन कायम गर्दै आर्थिक–सामाजिक समृद्धि हासिल गरेमा मात्र नै शहीदहरूप्रति सच्चा सम्मान तथा श्रद्धा हुने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले जगडोलस्थित शहीद पार्कका लागि सरकारले आवश्यक सहयोग पर्ने प्रतिबद्धता जनाए ।