images

प्रतिनिधिसभा बैठक बस्दै, सांसद टोपबहादुर रायमाझीको पद निलम्बनको जानकारी गराइने

काठमाडौं । आज संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसै गरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने भएको छ ।

साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।

तर नेकपा एमालेले क्विन्टल सुन प्रकरणलाई लिएर सोमबार पनि संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको भेटमा संसद्को अवरोध हटाउनेबारे कुनै निष्कर्षमा नपुगेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए। नेम्वाङले संसद्को अवरोध यथावत् नै रहने जानकारि दिएका छन् ।