images

भदौ १ गतेदेखि लागू हुने गरी १२ वटा बाणिज्य बैंकको ब्याजदर बढ्यो

काठमाडौं । बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार १२ वटा बाणिज्य बैंकको ब्याजदर बढेको छ ।

बिहीबार प्रकाशित नयाँ ब्याज दरमा केही बैंकहरुले ब्याज बढाउँदा केहीले स्थिर राखेका छन् भने केही बैंकले ब्याज घटाएका छन् । ब्याजदर बढाउने बैंकहरुको व्यतिगत मुद्धती खातामा अधिकतम १० दशमलव ८९ प्रतिशत ब्याज दिने भएका छन् ।

तर, यस्तो ब्याज एक वर्ष भन्दा माथिको मुद्धती खातामा मात्रै पाइने छ । कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, एभरेष्ट, सिटिजन्स, सानिमा, माछापुच्छरे र प्रभु बैंकहरुले ब्याजदर बढाएका हुन् ।

यी बैंकहरुले संस्थागत मुद्धती खातामा भने अधिकतम ८ दशमलव ८९ प्रतिशतका दरले ब्याज दिने छन् । गत महिना ब्याजदर बढाएका बैंकहरुले भने भदौका लागि ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड र एनआईसी एशिया रहेका छन् ।

व्यक्तिगत मुद्धती खातामा सबैभन्दा कम ब्याजदर दिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतम् ब्याज ८ दशमलव ९२ प्रतिशत दिने भएको छ । संस्थागत तर्फभने सो बैंकले ६ दशमलव ९२ प्रतिशत दिनेछ ।

यस्तै, हिमालयन, नेपाल एसबीआई, इन्भेष्टमेन्ट मेगा र नविल बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । केही वाणिज्य बैंकहरुले सीडी रेसियो मापदण्ड भन्दा माथि जान नदिन ब्याजदर बढाएका हुन । विकास बैंकहरुले पनि ब्याजदरमा सामान्य वृद्धि गरेका छन् ।