images

आर्थिक वर्षको पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ ।

यो गत आर्थिक वर्षको सोही महिनाको तुलनमा १ दशमलव पाँच छ प्रतिशत कम हो । त्यस्तै निर्यात पनि १३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ । यो गत वर्षको तुलनामा ८ दशमलव छ पाँच प्रतिशतले कम हो ।

आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार तथा व्यापार घाटा घटेको छ । साउनमा कुल वैदेशिक व्यापारको आकार १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९ दशमलव चार आठ प्रतिशत र आयातको हिस्सा ९० दशमलव पाँच दुई प्रतिशत रहेको छ ।

भन्सार विभागका अनुसार साउनमा पेट्रोलियम पदार्थको आयात पनि घटेको छ । विभागका अनुसार २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यता, एक महिनामा साढे २ अर्ब रुपैयाँको तरकारीजन्य वस्तुको आयात भएको छ । यस महिनामा २ अर्ब ८१ करोडको औषधि आयात भएको विभागले जनाएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतबाट १ अर्ब २४ करोडको आयात हुँदा ८ अर्ब ४ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग साउनमा मात्र ७२ अर्ब ७६ करोड रुपैयाँको व्यापार घाटा रहेको छ ।